एमसीसीबारे निर्णय गर्न नेकपा स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ, १० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (बुधवार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

आज बिहान ११ बजे बस्ने बैठकको एजेन्डा तय गर्नका लागि हिजो (मंगलबार) साँझ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच छलफल समेत भएको थियो । ओली र प्रचण्डबिचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिनेलगायतका एजेन्डा तय गरेको थियो ।

नेकपामा एमसीसीलाई संशोधन नगरी पारित गर्न नहुने मत बलियो छ । त्यसैले नेकपा स्थायी कमिटीको बैठकको बहुमतले एमसीसी सम्झौतालाई अस्वीकृत गर्ने सम्भावना बढेको नेकपाका एक नेताले दाबी गर्छन् ।

एमसीसी सम्झौता सांसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ सो दिन दिउँसो संसद् बैठक बस्दै छ । त्यो दिन सांसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निष्क्रिय हुनेछ । साथै अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिने छ ।

त्यसैले बुधवारको नेकपा स्थायी कमिटी बैठक महत्त्वपूर्ण मानिएको छ । यो बैठकले जे निर्देशन दिन्छ, सोही सर्कुलरअनुसार नै नेकपा संसदीय दलले निर्णय गर्नुपर्ने हुन्छ । स्थायी कमिटीले सम्झौता अनुमोदन नगर्ने निर्णय गरेमा केपी ओलीको अध्यक्षतामा बस्ने संसदीय दलको बैठकले सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गर्न सक्दैन ।

एमसीसीको पक्षमा एकमत नभएपछि सुझाव दिन भन्दै नेकपाले भलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो । कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन तयार पारेर पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।

म्याद थप्न सुझाव दिने

एमसीसीको बजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल) ले सरकारलाई संसदवाट सम्झौता अनुमोदन गर्न दिएको म्याद अबको ६ दिन अर्थात् असार १६ मा सकिँदै छ । तर सभामुख अग्नि सापकोटाले मंगलबारपछि एकैचोटी असार १७ गतेलाई प्रतिनिधि सभा बैठक राखेका छन् ।

मंगलबार दिनभर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरूबिच एमसीसीबारे के गर्ने भनेर छलफल भए पनि कुनै निर्णय गर्न सकेनन् ।

त्यस क्रममा समय थप गर्न प्रस्ताव गर्ने विषयमा नेताहरूबिच कुराकानी भए पनि भए पनि कुनै निर्णय हुन नसकेको एक नेताले बताए । एमसीसी कार्यान्वयनको समय सीमा घर्कदै गएको र पार्टीभित्र एकमत बन्न नसकेकाले एमसीसीबारे नेकपाले के गर्ला भन्ने आम चासो बढ्दै गएको छ ।

संसद्मा एक वर्षदेखि विचराधिन एमसीसी विवादमा परेपछि अध्ययनका लागि गत माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले सम्झौता परिमार्जन बिना संसदवाट अनुमोदन गर्न नहुने सुझाव दिएपछि सरकार दबाबमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्