मन्त्री घिमिरे भन्छन, ‘प्रदेश १ मा कोरोना नियन्त्रणमा आउँदै’ : निको भएर जानेको संख्या बढ्दै


विराटनगर, १० असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताउनु भएको छ । पछिल्ला दिनहरूमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले कोरोना जित्दै गएको मन्त्री घिमिरेको भनाई छ । प्रदेश १ को समुदायस्तरमा देखिएको संक्रमण नियन्त्रणमा आएको र अहिले देखिएको संक्रमण क्वारेन्टाईनमा मात्र भएकाले चाडै नियन्त्रणमा उहाँले विश्वास व्यक्त गर्नुभयो । झापाको शिवसताक्षी नगरपालिकाको छैटौँ नगर सभाको आज उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो ।

मन्त्री जीवन घिमिरेले बजेट निर्माण भन्दा पनि कार्यान्वयनमा जोड दिनुभएको छ । उहाँले निर्माण गरिएको बजेट पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहहरू सम्बृद्धिको बाटोमा अघि बढ्न जरुरी भएको बताउनुभयो ।

अहिले वडा–वडामा विकास निर्माणका कार्यहरू भैरहेपनि त्यत्ति मै सन्तोष मान्ने अवस्था नभएको भन्दै उहाँले भन्नुभयो,‘ अझ सशक्त ढंगले समृद्धिको बाटोमा अघि बढ्न जरुरी छ ।’ स्थानीय तहरुले बजेटका लागि आफ्नै श्रोतहरूको विकास गर्नुपर्नेमा मन्त्री घिमिरेको जोड छ ।

जनप्रतिनिधिहरुले गर्ने काम लुकाएर लुक्न नसक्ने भएकाले आचरण शुद्ध राखेर काम गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो,‘ जनप्रतिनिधि खुल्ला किताब हो, जनप्रतिनिधिले गरेको क्रियाकलाप लुकाएर लुक्न सक्दैन , कुनै न कुनै बेला बाहिर आउँछ ।’

राम्रो काम गर्दा पनि नियोजित विरोधहरू आउन सक्ने भएकाले विरोध भयो भन्दैमा काम नछाड्न उहाँले आग्रह गर्नुभयो । जनताको नजरमा उत्तीर्ण हुने चेष्टा राखेर काम गर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्