सुन्दरहरैंचाको आ.व ०७७/०७८ को बजेट १ अर्व १९ करोड ५० लाख ९६ हजार ८० रुपैयाँ


एलएन गच्छदार – सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागि १ अर्व १९ करोड ५० लाख ९६ हजार ८० रुपैयाँको बजेट विनियोजित गरेको छ ।

सञ्चित कोषबाट रु. ९६ करोड २७ लाख ९७ हजार २८० र अन्तर सरकारी अख्तियारीबाट रु. २३ लाख ५८ हजार ८ सय गरी १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैयाँको बजेट ल्याएको हो । बिहीबार नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालको अध्यक्षतामा भएको छैटौँ नगरसभमा उपप्रमुख धनमाया तमाङ्गले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

बजेटमा स्वास्थ्य, कृषि, रोजगार र भौतिक निर्माणलाई प्राथमिकता दिएको छ । नगर क्षेत्र भित्रका सडकहरूको नगर स्तरीय यातायात गुरु योजना तयार गरी अघि बढ्ने, सडक बिस्तार गर्दा पानीको श्रोत, बनजंगल, प्रकृति स्रोत तथा धार्मिक क्षेत्र विस्थापित नहुने गरी डिजाइन गर्ने, कृषकहरूको जीवनस्तरमा सुधार ल्याई नगरको आर्थिक समृद्धिमा कृषि पेसालाई जोड्ने, अपाङ्ग, बाल, लैगिक, बातावरणमैत्री साथै जेष्ठ नागरिक मैत्री नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सुन्दरहरैंचा नगरपालिका वडा ५ मा निर्माणाधीन सुबिधासम्पन्न इलेकट्रीक शवदाह गृह र पार्क निर्माण वडा ११ र १२ मा समेत सुविधायुक्त शवदाह बनाउने , पूर्वाधार निर्माणमा साझेदारी नीति अनुशारण गरी लागू गरिने , आर्थिक वर्ष ०७७र०७८ देखि कोल्ड स्टोर निर्माण कार्यको थालनी गर्नेछ ।

त्यसै गरी बृद्धाबन गौशाला धार्मिक पर्यटकीय क्षेत्रलाई नेपालकै नमुना धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न विश्वकै अग्लो गाईको मूर्ति निर्माण कालिखोला , किचकगढी, ग्रामथान, ६ पोखरी पार्क, भुल्के जलाधार क्षेत्र लगायतको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास नीतिलाई जोड दिने छैटौँ नगर सभाको नीति तथा कार्यक्रममा समेटिएको छ ।

कोभिड १९ को व्यापकले सिर्जना हुन सक्ने परिस्थितिको आंकलन गरी क्वारेनटिन व्यवस्थापन, राहत वितरण , सचेतना कार्यक्रम , सूचना तथा सम्प्रेषण, उपचार तथा नियन्त्रणमा आवश्यक बजेट व्यवस्थापन गर्ने उल्लेख छ ।

नगर क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयहरूमा १ देखि ५ कक्षा सम्म एकै प्रकारको पाठ्यक्रम लागू गर्ने, प्रत्येक विद्यालयको एक जना शिक्षकलाई आईसिटी सम्बन्धी तालिम व्यवस्थापन गर्ने, सामुदायिक बिधालयकोलागि उत्कृष्ट नतिजा ल्याउने २ विद्यालयलाई नगर उत्कृष्ट शिक्षा पुरस्कार व्यवस्था मिलाउने व्यवस्था गर्ने भनिएको छ ।

वातावरण तथा बिपद व्यवस्थापन सम्बन्धी नीति, संस्थागत विकास, सेवा प्रवाह र सुशासन नीति, सामाजिक विकास सम्बन्धी नीति लगायत कार्यक्रम समेटिएको छ। नगरप्रमुख उज्यालो सुन्दरहरैंचा कार्यक्रम, कृषि पेसाको सम्मान कृषकलाई अनुदानै अनुदान , उपप्रमुख आत्मनिर्भर कार्यक्रम अन्तरगत कृषि, पशुजन्य उत्पादनलाई जोड दिने अवलम्बन गरिनेछ ।

प्रस्तुत बजेट मध्ये आन्तरिक श्रोत चालू आर्थिक वर्षको आगामी मौज्दात समेत गरी १५ करोड ३० लाख ६ हजार १ सय ५६ रुपैयाँ , संघिय तथा प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानबाट २० करोड ९३ लाख ८३ हजार ,संघिय सरकार र प्रदेश सरकारकै राजश्व बाडफाडबाट रु. १३ करोड ५३ लाख ५१ हजार १ सय २४ रुपैयाँ , संघिय र प्रदेश सरकारको सशर्त अनुदानबाट ३५ करोड ४० लाख १७ हजार, संघिय र प्रदेश सरकारको समपुरका अनुदानबाट २ करोड ६० लाख, लागत सहभागिताबाट २ करोड र अन्तर सरकारी अख्तियारीबाट २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैयाँ को स्रोतगत अनुमान गरी बजेट प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्