रुसीमा राष्ट्रपतिको १२ वर्ष कार्यकाल लम्ब्याउन सक्ने व्यवस्था : पुटिन आगामी १६ वर्षसम्म पदमै रहन सक्ने


काठमाडौँ, १२ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी १६ वर्षसम्म पदमै रहिरहन बाटो खालेका छन् । अहिलेको संवैधानिक व्यवस्थामा सन् २०२४ मा पदावधि सकिने भएपछि नयाँ जनमतमार्फत उनले अरू १२ वर्ष कार्यकाल लम्ब्याउन सक्ने व्यवस्था मिलाएका हुन् ।

एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक गरिएको नतिजा अनुसार राष्ट्रपति पुटिनले चाहँदा आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनु हुनेछ । पुटिनलाई लामो समयसम्म शक्तिमा टिकाई राख्न बनाइएको नयाँ संवैधानिक व्यवस्थाका पक्षमा ठुलो मत परेको हो ।

आफ्नो कार्यकाल लम्ब्याउन मिल्ने संविधान संशोधनसम्बन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याए पनि मतदान भने हालै मात्र गराइएको हो ।

अप्रिल २२ का लागि तय गरिएको मतदानको मिति कोरोना भाइरसको संक्रमणका कारण जुन १ का लागि सारिए पनि हुन सकेको थिएन । तर अहिले भने मतदान समेत सकाएर नतिजा सार्वजनिक गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार अब राष्ट्रपति पुटिन थप दुई कार्यकाल शक्तिमै रहन सक्ने छन् । प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उनले अर्को १२ वर्ष रुसमा शासन गर्ने कानुनी बाटो खुलाइएको हो ।

दुई दशकदेखि एकछत्र शासन गरिरहनु भएका ६७ वर्षीय पुटिन क्राइमियालाई रुसमा गाभेपछि झन् लोकप्रियता कमाएका छन् । आफ्ना विरोधीहरूको आवाज निर्ममतापूर्वक दबाउने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

रुसी सत्ता भ्रष्टाचारमा लिप्त रहेको भन्दै आवाज उठाइरहेका विपक्षी नेता नभाल्नीसहितलाई उनले पटक पटक जेलमा कोचेका छन् । आफूलाई चुनौती दिने व्यक्तिलाई चुनावी मैदानमा उत्रनै नदिन पुटिनले अनेकन् हत्कण्डा अपनाउने गरेको आरोप लाग्ने गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्