चितवनमा सलह कीरा


चितवन, १४ असार । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा किरा देखिएको हो । उनका अनुसार कालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो किराका सानो झुन्ड वनतर्फ गएको छ ।

सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र सो नगरपालिकाका कृषि प्राविधिकहरूले अध्ययन गरिरहेको उनले जानकारी दिए । यसै गरी शनिवार साँझ खैरेनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुन्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकहरूले गराएको उनले बताए ।

उनले जिल्लामा कहीँ देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको जानकारी दिनुभयो । यससँगै भरतपुर महानगरपालिका र इच्छा कामना गाउँपालिका क्षेत्रमा फाट्टफुट्ट देखिएको भन्ने जानकारी सो केन्द्रमा आएको जनाइएको छ ।

सो केन्द्रका प्रमुख राजन ढकालले आजै बाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बैठक बस्न लागेको बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, सो परियोजना, केन्द्रलगायत संस्थाका विज्ञहरू र मन्त्रालयका उच्च अधिकारीका बिचमा सो विषयमा छलफल हुने जनाइएको छ ।

उनले मकै थन्काउने क्रम अन्तिम भएको भन्दै तत्काल थन्काउन, काट्दै गरेको चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयका प्रमुखलाई किरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आवश्यक पर्छ भन्न निर्देशन दिइएको जानकारी दिए । केन्द्रका प्रमुख ढकालका अनुसार मकवानपुरतिर त्यहाँबाट प्राविधिकहरूले सलहको ठुलै झुन्ड देखिएको जानकारी गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्