बेलबारीमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न


बेलबारी, १५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले राष्ट्रिय वृक्षारोपण दिवस तथा ६९ औँ मदन भण्डारी जयन्तीको उपलक्षमा बेलबारीमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बेलबारी नगरपालिका वाड न. ८ स्थिति सिंह देवी सामुदायिक वनको खालि ठाउँमा ३२ सय बिरुवा रोपिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले, गत वर्ष देखी देशव्यापी रूपमा नेपाल सरकारले लाखौँ बिरुवा रोप्ने उद्देश्यका साथ मुलुकको वातावरणीय, पर्यावरणीय सन्तुलनलाई कायम गर्दै वृक्षारोपणको माध्यमबाट आत्मनिर्भर बनाउने र गरिबी निवारणमा ठोस योगदान पुराउने उद्देश्यले वृक्षारोपण अभियान अघि बढाएको बताएका छन् ।

कार्यक्रममा मन्त्री कार्कीले मदन भण्डारीको योगदानको चर्चा गरेका थिए । विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ उचाइ थपिरहेको बेला रहस्यमय भण्डारीको जिप दुर्घटनामा निधन भएको मन्त्री कार्कीले स्मरण गर्दै नेपालका सबै कम्युनिस्टहरूलाई एकताबद्धता गरेर एकीकृत कम्युनिस्ट पार्टीको निर्माण गर्ने, भण्डारीको उद्देश्यलाई पुरा गर्ने अभियानमा कम्युनिस्ट नेताहरू रहेको बताएका छन् ।

कार्यक्रममा उद्योग पर्यटन बन, वातावरण राज्यमन्त्री विजय विश्वास, पार्टीका प्रदेश तथा जिल्ला स्तरीय नेता साथै बेलबारी नगरपालिका प्रमुख तथा उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्