सुनसरीमा एक प्रहरी हवलदारले आफैले पेस्तोलबाट गोली हानेर आत्महत्या गरे


सुनसरी, १६ असार । सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवलदारले आफैले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् ।

जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लाबारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकका रूपमा कार्यरत खतिवडाले अदालतको छतमा गएर आफूसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।

दाहिने कन्चटमा गोली हानी गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । घटनाको कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्