प्रधानमन्त्री ओलीको प्रश्न,“बैठकको कुरा भारतीय मिडियामा कसरी हुबहु आयो ?”


काठमाडौँ, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज (मंगलबार) को चौथो दिनको बैठक मुख्य एजेन्डा भन्दा पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमा केन्द्रित भएको छ ।

बैठकमा मुख्य एजेन्डा भन्दा प्रधानमन्त्रीको अभिव्यक्ति मुख्य विषय बन्न पुगेपछि बैठक नै प्रभावित भएको छ । बैठकमा नेकपा शीर्ष नेताहरूले प्रधानमन्त्रीले भारतले सरकार ढाल्न खोजिरहेको भनेर दिएको अभिव्यक्तिको आधार र प्रमाण माग गरेका थिए ।

केही दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै आजको बैठकमा सदस्यहरूले त्यसको सत्य तथ्य बताउन माग गरेका हुन् ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् ।

उनले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभूति गर्न नपाएको र पार्टीमा पनि ’ओली दम्भ’ देखिएकोले अब राजीनामा नै उत्तम विकल्प भएको बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

यस्तै नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीले सार्वजनिक रूपमै दिल्लीले आफूलाई हटाउन खोज्यो भन्नु सामान्य कुरा नभएकाले यसको जवाफ दिन माग गरेका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्नुको सट्टा स्थायी कमिटी बैठकमा कुरा भारतीय मिडियामा कसरी हुबहु आए भनेर उल्टै प्रश्न राखेका छन् ।

प्रधानमन्त्री ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएकामा पार्टी नेताहरूले जवाफ मागेपछि प्रत्युत्तरमा उनले पार्टीका नेताहरूबाटै सूचना लिक भएको आशय व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्