चितवनमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


चितवन, १७ असार । चितवनमा १०१ जनाको नमुना परीक्षण गर्दा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण फेला परेको भरतपुर अस्पतालले जानकारी दिएको छ । अस्पतालले आज (बुधवार) बिहान सार्वजनिक गरेको विवरण अनुसार चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुर महानगरपालिकामा मात्रै १० जना संक्रमित फेला परेका छन् । उनीहरू वडा नं. ४, ७, ९, ११, २२, २५ र २६ नम्बर वडाका हुन् । वडा नं. ७ का ६१ वर्षीय पुरुष संक्रमित नारायणी सामुदायिक अस्पतालमा उपचाररत छन् ।

कोरोना संक्रमण पुष्टि भएका चितवनको माडी नगरपालिका वडा नं. ५ का २५ वर्षीय पुरुष र वडा नं. ३ का ७३ वर्षीय पुरुष भरतपुर अस्पतालमा उपचाररत छन् । चितवनकै राप्ती नगरपालिका १ की १२ वर्षीय बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

यसै गरी पूर्वी नवलपरासी (नवलपुर) को गैँडाकोट नगरपालिका २ महिला र ८ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । यसै गरी सेन्ट्रल अस्पतालमा उपचाररत गोर्खा मनकामनाकी ३० वर्षीय महिला र झापाको दमक नगरपालिका–३ की ३५ वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्