पाथीभरा मन्दिरमा पहिलो पटक सहश्रचण्डी हुँदै


अनिल बराल, ताप्लेजुङ ।  ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा पहिलो पटक सहश्रचण्डी (१००८ चण्डीपाठ) सञ्चालन हुने भएको छ । वडादशैको अवसरमा यही असोज २४ गते घटस्थापनादेखी सुरु भई कार्तिक १ गते महानवमीसम्म सहश्रचण्डी आयोजना कमिटीको आयोजनामा विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको परिसरमा सहश्रचण्डी सञ्चालन हुने भएको हो ।

पाथीभरा मन्दिरमा धेरै भन्दा धेरै धार्मिक पर्यटक पु¥याउने उद्देश्यका साथ सहश्रचण्डी सञ्चालन गरिने आयोजना कमिटी संयोजक युवा विद्वान लक्ष्मण गुरुले बताउनुभयो । १००८ चण्डीपाठ सञ्चालन हुने ९ दिनमा आन्तरिक तथा बाह्य गरी ५ लाख धार्मिक पर्यटकले मन्दिरमा दर्शन गर्न आउने लक्ष्य रहेको पनि आयोजकले जानकारी दिएको छ । भारतको सिलगढी, सिक्किम, आसाम लगायत भुटानबाट पनि भक्तजनहरू सहभागी हुने सहश्रचण्डी युवा विद्वान लक्ष्मण गुरुकै सत्संकल्पमा सञ्चालन हुन लागेको हो ।
ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर हिन्दु एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ ।

श्रीहरि आध्यात्मिक गुरुकुल मनकामना सङ्खुवासभा र श्रीहरि आध्यात्मिक गुरुकुल बुढीगंगा ३ बाँसबारी मोरङका संस्थापक अध्यक्ष समेत रहनुभएका युवा विद्वान गुरुले १००८ चण्डीपाठ गर्न १ सय जना ब्राम्हणलाई ४ दिन लाग्ने भएतापनि यो अवसरमा भने ३० जना ब्राम्हणले ९ दिनमा पुरा गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।
पाथीभरा मन्दिर ताप्लेजुङको परिसरमा दैनिक रूपमा सहश्रचण्डी पाठ र वनस्पति हवन गरिने कार्यक्रममा सवा करोड दीप प्रज्वलन समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्