प्रेमवादी विश्वव्यापी मञ्चको १५ औँ अन्तर्राष्ट्रिय कान्फेरेन्स सम्पन्न


मोरङ, २१ असार । हेवेन्लीपाथले प्रेमवादी विश्वव्यापी मञ्चद्वारा १५ औँ अन्तर्राष्ट्रिय जुम भिडियो कन्फेरेन्स सम्पन्न गरेको छ । आयोजकका अनुसार उक्त कार्यक्रम गुरु पूर्णिमाको अवसरमा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व मन्त्री तथा संविधान सभा सदस्य श्रीप्रसाद जवेगुले, मास्कवादी चिन्तनको अध्ययन गरी राजनैतिक क्षेत्रमा काम गरिरहेको भएता पनि पछिल्लो पटक पूर्वीय दर्शनको अध्ययनमा चासो लिँदा प्रेमवाद दर्शन र यसले सामाजिक रूपान्तरणमा खेलेको उल्लेख्य भूमिका आफैमा लोक प्रिय, जनप्रिय भएकोले आफू पनि यस दर्शनसँग प्रभावित रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि मनिश्वर राईले समाजमा धर्मको नाममा अन्धभक्त नहुन आग्रह गरेका छन् । उनले धर्मको विषयमा चर्चा गर्दै आध्यात्मिक चेतनाको विश्वविद्यालय धर्म हो भन्ने भनाइ राखेका थिए । उनले भने,‘धर्म आफैमा एउटा विश्वविद्यालय हो । संसारमा चाहिने तत्त्व मध्य धर्म पनि प्रमुख हो ।’ राईले  हेवेन्लीपाथको राम्रो पक्षबारे पनि चर्चा गरेका थिए । सबै धर्मको असल पक्षलाई समेटेर मानव हित कार्यमा प्रयोग गर्ने हेवेन्लीपाथको संस्कार उत्कृष्ट रहेको समेत राईले बताएका छन् ।

कार्यक्रममा संस्थाका गुरु निहिङ, सेनमुधुम, रिजोईन लगायतले गुरु पूर्णिमाको चर्चा गर्दै हेवेन्लिपाथका संस्थापक ऊ नन्द गुरुलाई स्मरण गरेका थिए । सबै गुरुहरूले हेवेन्लीपाथको प्रेमवाद दर्शन मानव जीवनमा अनिवार्यता रहेको मत राखेका थिए ।

कान्फेरेन्समा विभिन्न देशका हेवेन्लीपाथ संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो । १५ औँ अन्तर्राष्ट्रिय जुम भिडियो कन्फेरेन्स संस्थाका गुरु सेमिङको संयोजकतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन शङ्कर मुखियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्