बेलबारी नगरपालिकाद्वारा ३ वटा विद्यालय सञ्चालनमा प्रतिबन्ध


बेलबारी, २२ असार । बेलबारी नगरपालिकाले ३ वटा विद्यालयलाई सञ्चालनमा प्रतिबन्ध लगाएको छ । नेपाल सरकार तथा स्थानीय सरकारका कुनै पनि नियमनकारी निकायबाट अनुमति स्वीकृति नलिई सञ्चालन गरेको विद्यालयलाई नगरपालिकाले प्रतिबन्ध गरेको हो ।

नगरपालिकाले बेलबारी वाड नं. ८ को श्री अन्नपूर्ण हिमाल अङ्ग्रेजी बोर्डिङ स्कुल, वाड नं. ९ बाहुनी स्थित श्री ज्ञानज्योति बोर्डिङ स्कुल र वाड न्रं. १० भाउन्नेडागी स्थित श्री डागिहाट क्रिष्टल एकेडेमीलाई कक्षा सञ्चालनमा प्रतिबन्ध गरेको छ ।

बेलबारी नगरपालिका नगर शिक्षा समितिको असार १७ गतेको निर्णय अनुसार अनुमति नलिई सञ्चालन भएको विद्यालयका सबै कक्षाहरू बन्द गरिएको र सम्बन्धित विद्यालयलाई सार्वजनिक स्थानमा बन्द भएको सूचना टाँस गरी प्रमाण पेस गर्न समेत आग्रह गरेको बेलबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा खेलकुद शाखाका प्रमुख भूपेन्द्रप्रसाद कोइराले बताएका छन् । सम्बन्धित विद्यालयले १५ दिन भित्र कक्षा बन्द भएको सूचना टाँस गर्ने कोइरालाले बताए ।

कोइरालाले भने,‘विद्यालय सञ्चालनमा संलग्न व्यक्तिलाई अनुमति स्वीकृतिका कुनै कागजात भए पेस गर्न आग्रह गर्दा दिएको हदम्याद भित्र पेस नभए पछि बन्द गर्ने निर्णय गरेको हो ।’ प्रारम्भिक कक्षा सञ्चालनको अनुमतिलाई समेत बेलबारी नगरपालिकाको शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ का प्रावधान पूरा गरेपछि मात्र उक्त कक्षा सञ्चालन गर्न पाउने कोइराला बताए ।

प्रतिक्रिया दिनुहोस्