ग्रामथानमा प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने


विराटनगर, २२ असार । प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कट्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो ।

बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावक विहीन सडक आश्रित मानवहरूको उद्धार गरी औषधोपचार, पालनपोषण, पारिवारिक पुनर्मिलनको सेवाका लागि प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्ने तयारी गरेको हो । प्रदेश सरकारले सो सेवा आश्रमका लागि आगामी आर्थिक वर्षमा १ करोड बजेट छुट्टाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । चालु आर्थिक वर्ष भित्रमै निर्माण कार्यको थालनी गर्ने गरी मन्त्रालयले सहयोगी संस्थाहरूसँगको छलफललाई अघि बढाएको छ ।

सहयोगापेक्षी, सडकआश्रित मानवहरूको उद्धार कार्यमा अहिले मानव सेवा आश्रमले कार्य गरिरहेकाले सोही संस्था लगायतका सहयोगी संस्थाहरूसँग मन्त्रालयले छलफल अघि बढाएको मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश १ मा सडकआश्रितहरुलाई उद्धार गरी सडक मानवमुक्त बनाउने अभियानमा सरकार अघि बढेको मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश सरकारले आगामी तीन वर्षभित्रमा सुविधा सम्पन्न सेवा आश्रम निर्माण गरिने लक्ष्य रहेको बताउनुभयो ।

प्रदेश १ मा मानव सेवा आश्रमले सडक आश्रित ५० जनालाई उद्धार गरिसकेको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहसँगको सहकार्यमा सडकबाट उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । कास्कीको पोखरामा प्रदेश सरकारसँगको सहकार्यमा ३ सय क्षमताको सुविधा सम्पन्न मानव सेवा आश्रम निर्माण कार्य सुरु भएको बताउनुभयो ।

१० वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम सुरु भएको अधिकारीले बताउनुभयो । मानव सेवा आश्रमले ७ वटै प्रदेशमा १९ वटा केन्द्र मार्फत सेवा दिइरहेको उहाँले बताउनुभयो । देशभरिमा अहिले सम्म १ हजार २ सयलाई सेवा दिइएको अधिकारीको भनाई छ ।

सहयोगापेक्षी, सडकआश्रित मानवहरूका लागि प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्नु राम्रो पक्ष भएको अधिकारकर्मी मञ्जिता उपाध्यायले बताउनुभयो । प्रदेश सरकारले छिटो आश्रम निर्माण गरी सेवा सुरु गर्नुपर्ने उहाँको सुझाव छ । अहिले भाडाको घरबाट मानव सेवा आश्रमले सेवा दिइरहेका कारण खर्च बढेको उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्