बेलबारी नगरपालिकाद्वारा कृषकलाई मिनी टिलर वितरण


बेलबारी, २३ असार / मोरङको बेलबारी नगरपालिकाले किसानलाई मिनी टिलर वितरण गरेको छ । कृषिलाई यान्त्रीकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले कृषक तथा समूहलाई ५० प्रतिशत अनुदानमा औजार वितरण गरिएको हो ।

नगरपालिकाको मिनी टिलर वितरण कार्यक्रममा सांसद यशोदा अधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बेलबारी नगरपालिकाको कार्यको प्रशंसा गर्दै कृषि विकासको लागि औजार खरिदमा किसानसँगको साझेदारी कार्यक्रम उत्कृष्ट रहेको अधिकारीले बताएकी छिन ।

किसानहरू लाभान्वित हुने, आम्दानी बढ्ने, उत्पादनमा पनि वृद्धि गर्न विशेष सहयोग हुने हुँदा बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १४ जना किसानलाई मिनिटिलर वितरण गरिएको उपप्रमुख ढाका कुमारी पराजुलीले बताइन । यस्ता कार्यक्रम निरन्तर गर्ने पराजुलीले बताएकी छिन । पशुपालन क्षेत्रलाई विशेष मध्यनजर गरेर कार्यक्रम अगाडी बढाउनु पर्ने, कृषि क्षेत्रमा बेलबारी नगरपालिका आत्मनिर्भर बनाउने उद्देश्य रहेको पराजुलीले बताइन ।

केही दिन अघि नगरपालिकाले ५ वटा मिनिटिलर र १६ वटा मकै छोडाउने मिसिन वितरण गरेको थियो भने आज किसानलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली, प्रवक्ता योगेन्द्र सुवेदी प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह लगायतले मिनी टिलर वितरण गरेका थिए ।

किसानहरूको हितमा मिनी टिलर ५० प्रतिशत अनुदानमा नगरपालिका प्रदान गरेकोमा बेलबारी २ का कवीन्द्र धिमालले नगरपालिकालाई धन्यवाद प्रदान गरेका छन् । भावी दिनमा पनि किसानहरूलाई आवश्यक पर्ने कृषि सामाग्रीहरू स्थानीय निकायले उपलब्ध गराउने छ भन्ने आशा पनि रहेको धिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्