नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा शैलेश थापा


काठमाडौं, २३ असार । सरकारले अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको छ ।

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्वको जिम्मेवारी दिएको छ । उनले बिहीबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहने छन् ।

वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदै छन् । उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए ।

अबको आइजिपीका लागि थापा बाहेक हरि पाल मात्र उमेद्वार थिए । एआइजीमध्येबाट आइजिपी नियुक्त गर्नुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ । हाल रहेका तीन जना एआइजीमध्ये तारिणीप्रसाद लम्सालले पनि बुधबारपछि अवकाश पाउँदै छन् । वर्तमान आइजिपी ज्ञवाली र लम्सालले २०४७ साल असार २५ गतेदेखि नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।

थापा र पालले एकै दिन अर्थात् २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । गत फागुनमा एआइजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये थापा पहिलो र पाल दोस्रो नम्बरमा थिए । थापा एसएसपी र डीआइजी हुँदा पनि ब्याचीमध्ये पहिलो नम्बरमा थिए ।

प्रहरी निरीक्षकमा नाम निकाल्दा पनि पहिलो नम्बरमा रहेका थापाले पहिलो नम्बरमै रहेर सेवाबाट अवकाश पाउने छन् । उनी आफ्नै ब्याची र प्रतिस्पर्धी माझ पनि लोकप्रिय थिए । व्यावसायिक छवि र विवादरहित ट्र्याक रेकर्डका कारण उनले पहिलैदेखि संगठनको भावी नेतृत्व दावेदारका रूपमा हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्