अब सरकारले सार्वजनिक यातायातका साधन चल्न दिने


काठमाडौं, २५ असार । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन चल्ने दिने भएको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज (बिहीबार) सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका छन् ।

काठमाडौँको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र चल्न पाउने उनले जानकारी गराएका छन् । सार्वजनिक सवारी साधन बसमा ५० प्रतिशत थप भाडा र ट्याक्सीमा ४० प्रतिशत थप भाडा लिएर सवारी साधन सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न पाउने छन् ।

तर यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनु पर्ने र सरकारले तोकेका अन्य विधि समेत अपनाउनुपर्ने जनाइएको छ ।

मन्त्री खतिवडाले ट्याक्सीहरू तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्