सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद खारेज


काठमाडौं, २५ असार । समाजवादी पार्टी (नवगठित जनता समाज पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको छ ।

सांसदका महासचिव डा। भरतराज गौतमले बिहीबार सूचना प्रकाशित गरेर गिरीको समानुपातिक सांसद पद रिक्त भएको जानकारी दिएका छन् ।

भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी नयाँ बनेको नेपालको नक्सा संसदबाट पारित गर्ने क्रममा आफ्नै पार्टीले जारी गरेको ह्विप गिरीले उल्लंघन गरेकी थिइन् ।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।

संविधान संशोधनको विपक्षमा प्रस्ताव दर्ता गराएकी संसद गिरीलाई प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएपनि उनले अस्वीकार गरेकी थिइन् ।

यो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको कार्यादयल बनाएको थियो ।

यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको थियो । केन्द्रीय पदाधिकारी बैठकले पनि कार्यदलको सिफारिसलाई मान्यता दिँदै कारबाही गरेको थियो ।

संसद् सचिवालयले गिरीलाई उनको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनलाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको र प्रमुख सचेतकमार्फत पत्र प्राप्त भएको आधारमा उनको पद खारेज गरेको जनाएको छ ।

संसद् सचिवालयले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम प्रक्रिया पूरा गरेको देखिन आएकाले संविधानबमोजिम यो निर्णय लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्