बाढी–पहिरोमा परेर म्याग्दीमा ३ जनाको मृत्यु, ३० बेपत्ता


म्याग्दी, २६ असार । म्याग्दीमा बिहीबार राति परेको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा धौलागिरी गाउँपालिका–७ ताकमका दुई जना र रघुगंगा गाउँपालिका–६, ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्याल छन् । छन्त्याललाई बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए ।

म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा ८ जना र मालिका–६ दुखु खोलाले बगाएर एक जना महिला बेपत्ता भएकी छन् । पहिरोमा परी मराङमा २० घर, ताकममा ५ घर बिममा १० घर पूर्णरुपमा क्षति पुगेको प्रशासनले जनाएको छ ।

यस्तै मराङमा रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना बेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले पुरिदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन् । बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिदा पाँच जना बेपत्ता भएका छन् ।

मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढा लगायतको चार वटा गोठ पुरिएको र ६ घर तथा झोलुङ्गे पुल जोखिममा परेका छन् । अहिले म्याग्दीमा हराएकाहरुको खोजी र उद्दार कार्य चलिरहेको छ । उद्दारको लागि हेलिकोप्टर मगाइएको पनि सहायक जिल्ला अधिकारी सुवेदीले जनाए ।

प्रतिक्रिया दिनुहोस्