घरघरमा पुगेर विद्यार्थी पढाउँदै बेलबारी नगरपालिका


केशु विरही – बेलबारी, २६ असार । कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । लकडाउन पछि बन्द भएका शैक्षिक संस्थाहरू अझैसम्म पनि खुल्न सकेका छैनन् । र तुरुन्तै खुलिहाल्ने अवस्था पनि देखिन्न ।

लामो समयसम्म विद्यालयहरू बन्द हुँदा विद्यार्थी तथा अभिभावकहरूमा अब के हुने भन्नेमा ठुलो अन्योल रहेको छ । यस्तो अन्योलका बिच पनि बेलबारी नगरपालिकामा भने घरघरमा पुगेर विद्यार्थीहरूलाई पढाउने काम भइरहेको छ ।

लामो समयसम्म विद्यालय नखुल्दा विद्यार्थी तथा अभिभावकहरू अन्योलमा रहेको बेलामा बेलबारी नगरपालिकाका केही सामुदायिक विद्यालयहरूले घरघरमै पुगेर विद्यार्थीहरूलाई पढाउन थालेका हुन । बेलबारी नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार वैकल्पिक विधिमार्फत १०/२५ जना सम्म विद्यार्थी राखेर टोलटोलमा पठनपाठन गराउन थालिएको छ ।

विभिन्न चुनौतीका बिच पनि विद्यार्थी तथा अभिभावकमा रहेको अन्योललाई अन्त गर्न समुदाय नजिक रहेका मठमन्दिर, सामुदायिक भवन तथा निजी घरहरूमा समेतको प्रयोग गरेर विद्यालयहरूको पठनपाठनलाई निरन्तरता दिएको बेलबारी ८ मा रहेको जनता माविका प्रधानाध्यापक जनक तिम्सिना बताउँछन् ।

बजार क्षेत्रका ठुला निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेको तर विद्यार्थी सहभागिता न्यून भइरहेको बेलामा बेलबारीका सामुदायिक विद्यालयहरूले टोलटोलमा कक्षा सञ्चालन गरेको यो विधि प्रभावकारी भएको जानकारहरू बताउँछ ।

विश्व नै कोरोनाको संकटमा परेको बेलामा, अर्थात् सारा देश नै निदाएको बेलामा बेलबारीका सामुदायिक विद्यालयहरूले सुरु गरेको यो अभियानले अभिभावकलाई ठुलो राहत मिलेको अभिभावक उपेन्द्र राई बताउँछन् ।

कोरोना संक्रमण दिनानुदिन बढिरहेको बेलामा विद्यार्थी जम्मा गरेर कक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्छ भनेर विरोधका आवाज पनि बाहिर आइरहेका छन् । यसरी विद्यार्थी जम्मा गरेर कक्षा सञ्चालन गर्दा कोरोनाको संक्रमण बढ्दैन र भन्ने प्रश्नमा लक्ष्मी मा.वि लक्ष्मीमार्गका प्रधानाध्यापक गोविन्द भण्डारी विशेष सावधानी अपनाएर मात्र पठनपाठन गरिएको हुनाले संक्रमण नबढ्ने बताउँछ ।

उनी भन्छन्, ‘हाम्रो यो कार्यलाई नगरपालिका, शिक्षा शाखा तथा सबै अभिभावकहरूबाट पनि नियमित रूपमा अनुगमन भइरहेको छ । हामी विशेष सचेतताका साथ काम गरिरहेका छौँ ।’

अरू विद्यालयले टोलटोलमा विद्यार्थी भेला गरेर पठनपाठन सुरु गरिरहेको र त्यसको अनुगमन कार्यमा समेत संलग्न रहँदै आएका बेलबारी २, लालभित्तीमा रहेको कबिर मा.विका प्रधानाध्यापक दुर्गाप्रसाद गौतम आफूहरूले पनि अभिभावकका घरघरमा पुगेर उनीहरूको जानकारी लिने काम गरिरहेको बताऊ छन् । यो विधि प्रभावकारी देखिएकोले अब स्थानको निर्धारण गरेर आफूहरू पनि पठनपाठन सुरु गर्ने बताएका छन् ।

लामो समयदेखि विद्यालय बन्द भएर पठनपाठन समेत रोकिएको अवस्थामा वैकल्पिक विधिबाट भए पनि पढ्न पाएकोमा विद्यार्थीहरू पनि खुसी देखिएका छन् । डेस्क बेन्चमा बसेर पढ्दै आएका विद्यार्थीहरूलाई अहिले सुकुल, गुन्द्री, चकटी, तथा म्याड ओछ्याएर पढ्नु परेको छ । कति ठाउँमा त ह्वाईट वोडको समेत व्यवस्था गरिएको छन् । तै पनि यस्तो विषम परिस्थितिमा समेत विद्यालयले पढ्ने व्यवस्था मिलाइदिएकोमा विद्यार्थीहरू आफूहरूलाई खुसी लागेको बताउँछन् ।

बेलबारीको शैक्षिक सुधारमा निरन्तर रूपमा लागिरहेका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला बेलबारीवासी पनि हुन । स्थानीयवासी भएको नाताले मात्र नभएर आफू एक जिम्मेवार निकायको प्रमुख भएको नाताले पनि नगरेका शैक्षिक सुधारमा आफू लागिरहेको र लागिरहने बताउँछन् ।

प्रशासनिक सुधारका कारण बेलबारीको शिक्षा अरू पालिकाको भन्दा अगाडि देखिएको छ । उनी कडा मिजासका छन् । पाएको जिम्मेवारी पुरा गर्नुपर्छ, यदि पूरा गर्न सकिन्न भने ठाउँ छाडिदिनु पर्छ भन्ने विचार राख्ने कोइराला यही चट्टानी अडान र शिक्षामा ल्याएको परिवर्तनका कारण आफू धेरैको आँखाको तारो बनेको बताउँछन् ।

लकडाउन भएको लामो समयसम्म विद्यालयहरू खुल्ने अवस्था नदेखिएपछि नगरपालिकाले विद्यार्थीहरूको अवस्थाको सर्वेक्षण गरेको, सर्वेक्षणमा धेरै विद्यार्थीहरूमा इन्टरनेट, टिभी रेडियोको जस्ता सामग्रीको पहुँच नपुग्ने भएकाले टोलटोलमा गएर पढाउन विद्यालय तथा शिक्षकहरूलाई प्रोत्साहन गरिएको र यो भरपर्दो विधि रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइरालाले बताए । साथै उनी कोरोनाले सारा देश निदाईरहेको बेलामा आफूहरू भने बेलबारीलाई ब्युँताउने काममा लागिरहेको बताए ।

बेलबारी नगरपालिकामा ३१ वटा सामुदायिक विद्यालयमा ८ हजार ६६ जना विद्यार्थी रहेका छन् । सबै विद्यार्थीलाई असार मसान्त भित्रमा दूर शिक्षामा सहभागी गराउने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले असार मसान्त सम्ममा ३४ स्थानमा निःशुल्क वाइफाई समेत जडान गर्ने समेत जनाएको छ ।

यसरी अभिभावक तथा विद्यार्थीहरू अन्योलमै रहेको बेलामा स्थानीय स्तरमा सञ्चालन गरेको यो कार्यक्रम आफैमा राम्रो कदम हो । यसलाई “टोलटोलमा पाठशाला” कार्यक्रमलाई वैकल्पिक शिक्षण विधिको राम्रो उदाहरणको रूपमा लिन सकिन्छ । यस्तो कार्यलाई मुक्तकण्ठले स्वागत गर्दै यो अरू पालिकाले पनि बेलबारीको यो कदमको अनुसरण गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्