भरत मोहन अधिकारीलाई १ नं. प्रदेशमा नागरिक अभिनन्दन गरिने


विराटनगर, १५ असोज । वरिष्ठ राजनीतिक तथा सामाजिक व्यक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फबाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उहाँलाई नागरिकको तर्फबाट अभिनन्दन गर्न लागिएको हो ।

यस सम्बन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेष प्रसाद धमलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिमा उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घ, पत्रकार महासङ्घ, जिल्ला सहकारी सङ्घ, मनमोहन प्रतिष्ठान, जेष्ठ नागरिकसँग सम्बन्धित संघ÷संगठनहरु, प्याब्सन लगायत विभिन्न संघ संगठन, सभासद्, सामाजिक ब्याक्तित्वहरु सदस्य रहेका छन् ।

त्यसै गरी डा. धमलाकै संयोजकत्वमा ३१ सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरिएको छ । कार्य सम्पादन समितिको हिजो सम्पन्न बैठकले विभिन्न आठ वटा उपसमितिहरू गठन गरेको छ । पवन सारडाको संयोजकत्वमा कार्य स्थल व्यवस्थापन, भीम प्रसाद घिमिरेको संयोजकत्वमा आर्थिक, डा. भेष प्रसाद धमला, स्वागत सत्कार, कविराज न्यौपानेको संयोजकत्वमा अभिनन्दनपत्र तयारी एवम् कार्य पुस्तिका प्रकाशन, रमेश चन्द्र पौडेलको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरिएको छ । त्यसै गरी डिल्ली पोखरेलको संयोजकत्वमा प्रचार प्रसार, भिखमचन शरणको संयोजकत्वमा जलपान व्यवस्थापन र स्वास्थ्य महाशाखाका प्रमुख ज्ञान व. बस्नेतको संयोजकत्वमा स्वास्थ्य उपसमिति रहेका छन् ।

सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यमा सो कार्यक्रम हुने र उंहाको समय लिएर मिति तय गर्ने कुरा मूल समारोह समितिका संयोजक डा. भेष प्रसाद धमलाले बताउनु भयो । उंहाका अनुसार १ नं. प्रदेशका मुख्य मन्त्री शेरधन राई संयोजक र सामाजिक विकास मन्त्री जीवन घिमिरे सहसंयोजक रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ राजनीतिज्ञ भरत मोहन अधिकारीले सामाजिक तथा राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत उंहालाई नागरिक अभिनन्दन गर्न लागिएको हो । जेष्ठ नागरिकको सन्दर्भमा उंहाको विशेष योगदान रहेको छ । उंहा अर्थमन्त्री भएकै समय देखि वृद्ध भत्ता लगायतका सामाजिक भत्ताहरूको वितरण सुरु भएको थियो । अधिकारी १ नं. प्रदेश अन्तर्गत विराटनगरका स्थायी बासिन्दा हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्