आज विराटनगरबाट एक जना सडक आश्रितको उद्धार


विराटनगर, २८ असार । विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट उद्धार गरिएको हो ।

विराटनगर महेन्द्रचौक देखि एयरपोर्ट सम्म हिँडिरहने करिब ५१ वर्षीय पुरुषलाई उद्धार गरिएको हो । स्थानीयका अनुसार उद्धार गरिएका व्यक्ति करिब १० वर्षदेखि सडक आश्रित छन् । उनको सडकबाट उद्धार गर्दै सामाजिक विकास मन्त्री घिमिरेले सहयोगापेक्षी, सडकआश्रित मानवहरूको उद्धार गरी सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सडकमा सहयोगापेक्षी, सडकआश्रित मानवहरू देखिने छैनन् ।’ पहिलेको तुलनामा बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावक विहीन सडक आश्रित मानवहरू सडकमा कम हुँदै गएको मन्त्री घिमिरेले बताउनुभयो ।

सडकबाट उद्धार गरिएकाहरूको औषधोपचार, पालनपोषण, पारिवारिक पुनर्मिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५० जना व्यक्तिहरूको उद्धार गरिसकेको जनाएको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरूसँगको सहकार्यमा सडकबाट उद्धार गरी मानव सेवा आश्रममा ल्याइने गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताउनुभयो ।

सहयोगापेक्षी, सडकआश्रित मानवहरूका लागि प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माणको पनि तयारी सुरु गरेको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कट्टा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माणका लागि प्रदेश सरकारले तयारी सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्