प्रदेश १ सरकारद्वारा एक दर्जनबढी श्रष्टा सम्मानित


विराटनगर, २९ असार । २ सय ७ औँ भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जन बढी स्रष्टाहरूलाई सम्मानित गरेको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन । एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका स्रष्टा डा. नवलकिशोर राई सम्मानित हुनु भएको छ । उहाँले सम्मान बापत प्राप्त गरेको राशि मध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार कोरोना उपचार कोषलाई हस्तान्तरण गर्नुभयो ।

भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित हुनु भएको छ । ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’–धनकुटा, कविराज पोखरेल–मोरङ, मुनाराज शर्मा–झापा, पञ्चकुमारी परियार–खोटाङ, प्रेम ओझा–पाँचथर, शिवनारायण पण्डित‘सिंगल’–सुनसरी, साहित्य र कला तर्फ डीवी किराँती–सोलु, रंगकला तर्फ कविता नेपाल–झापा, चलचित्रकर्मी तर्फ केशव रायमाझी–मोरङ, नृत्यकला तर्फ माया पौडेल–मोरङ, गीत/संगीत तर्फ वीरध्वज शिवा–मोरङ सम्मानित हुनु भएको छ । स्रष्टाहरूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, स्रष्टा मूल्यांकन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गर्नुभएको थियो ।

उहाँहरूलाई जनही ५०–५० हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई गतवर्ष देखि सम्मान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्