मोरङका ६ पालिकाले संयुक्त रूपमा तिन ठुला योजना भित्रयाउदै


बेलबारी, ३ साउन / उत्तरी मोरङका ६ वटा पालिकाहरूले संयुत्त रुपमा फोहोर मैला व्यवस्थापन, सोलार प्यानलबाट (सौर्य ) ऊर्जा निकाल्ने तथा दमकल व्यवस्थापन गर्न अगाडी बढेका छन् ।

मोरङको बेलबारी, सुन्दरहरैचा, लेटाङ नगरपालिका कानेपोखरी र केराबारी गाउँपालिकाले गौरवको आयोजनाका रूपमा तिन वटा योजनालाई अगाडि बढाइरहेका छन् । लिभ्रा टेक्नोलोजी कम्पनीसँगको सहकार्यमा फोहोर वाट मोहर बनाउने, सोलार सौर्यबाट बिद्युत उत्पादन गर्ने तथा दमकलको व्यवस्थापन संयुक्त रुपमा गर्ने गरी अगाडि बढिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन । यी योजनाहरू भित्रिएसँगै स्थानियतहरुले ठुलो परिवर्तन आउने विश्वास गरिएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकाल, लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीप कुमार राई, केराबारी गाउँपालिकाका प्रमुख रोहित बहादुर कार्की, कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्ले तथा उदयपुरको लिभ्रा टेक्नोलोजी कम्पनिका श्याम राज पान्डे, र सुदिप कुमार चौधरी सहितको टोलीको सक्रियतामा ठुला योजनाहरू ल्याउन लागिएको हो ।

अन्तरपालिका साझा सरोकार मञ्चका मोरङका संयोजक समेत रहेका बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको पहलमा योजनाहरू भित्रिएको हो । उक्त योजनाहरू भित्राउन उदयपुरको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले सहजीकरण गरेका थिए ।

लामो समय सम्म फोहोर मैला व्यवस्थापनमा समस्या देखिएपछि संयुक्त रूपमा फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी ६ स्थानियतहरु जुटिरहेका छन् । यस्तै सोलार प्यानलको प्रयोग वाट आफ्नै पालिकामा सौर्य ऊर्जा उत्पादन गर्ने गरी समेत नगरपालिका तथा गाँउपालिकाहरु अगाडी बढेका हुन । ६ वटै पालिकाले संयुक्त रूपमा दमकलको समेत व्यवस्थापन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्