एकै दिन सुनको मूल्य प्रतितोला रु. एक हजार ३०० ले बढ्यो


काठमाडौं, ७ साउन । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु. एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० पुगेको छ ।

मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला रु ९२ हजार २६० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले बढेर एक हजार १३५ पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस एक हजार ८६८.४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार शून्यमा झरेको महासङ्घले जनाएको छ । ‘नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोबार शून्य भएको हो’, उनले भने । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोबार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्