गछिया खोलामा अवैध उत्खनन : खोला उत्खनन नरोकिँदा स्थानीयहरू आन्दोलित


केशु विरही – सुन्दरहरैंचा, मोरङ । असार १ गतेबाट नदीजन्य सामग्रीहरू निकाल्न प्रतिबन्ध लगाईएपनि मोरङको गछिया खोलामा भने उत्खनन कार्य अझै रोकिएको छैन ।

प्रतिबन्ध भए यता बेलबारी र सुन्दरहरैचामा नदीजन्य सामग्री चोरीनिकासी गर्ने क्रममा १९ वटा ट्र्याकटर, २ वटा जेसिवि र एक टिपर पक्राउ परिसकेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयबाट आएका टोलीले साउन ७ गते उत्खननको लागि प्रयोग हुने मेसिन २ वटा जेसिवि र १ टिपर सुन्दरहरैचाको गछिया खोलाबाट पक्राउ गरेको थियो । शनिवार पनि बेलबारी इलाका प्रहरी कार्यालयले लोहोन्द्रा खोलाबाट एक ट्याक्टर पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साउन ७ गते स्थानीयले गछिया खोलाबाट बालुवा गिटि उठाइरहने क्रममा दुई वटा जेसिवि, एउटा टिपर र ट्र्याकटर समातेर प्रहरीमा बुझाए पछि प्रतिबन्धमा पनि चोरीनिकासी भइरहेको सो तथ्य बाहिर आएको हो ।

ग्छिया खोलाबाट उत्खननमा सहभागी सवारी साधन तथा तिनका चालकलाई सम्बन्धित क्षेत्रका प्रहरीले नसमाते पछि स्थानीयहरूले मोरङका प्रमुख जिल्ला अधिकारीलाई गुहार्नु परेको गुनासो रहेको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि मात्र जिल्लाबाटै आएको प्रहरीको टोलीले उत्खननमा संलग्न सवारीसाधनलाई नियन्त्रणमा लिएको स्थानीय बताउँछन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख ऋषिराज ढकालले भने दिनरात नभनी चोरी निकासी रोक्न कडा निर्गानी गरिरहेको बताउँछन् । अवैध उत्खननमा संलग्न कसैले पनि छुट नपाउने ढकालले बताएका छन् । तर स्थानीयहरू भने अवैध रूपमा खोला उत्खनन नरोकिएको भन्दै आक्रोशित भएका छन् । प्रतिबन्धको वेलामा समेत उज्यालो हुन नपाउँदै खोलामा पसेर गिटिबालुवा निकालिरहेको फेलापारेपछि स्थानीयहरू झनै आन्दोलित भएका छन् ।

७ गते गछियामा पक्राउ परेको २ जेसिवि र १ टिपरलाई जरिवाना गरी आज आइतबार छाडिएको छ । सुन्दरहरैचा नगरपालिकालाई प्रहरीले आज आवश्यक कारबाहीको लागि पठाएको निवेदन अनुसार रु.४० हजार जरिवाना गरी, आजै छोडिएको समेत प्रहरी चौकी गछियाका प्रमुख बलदेव सुवेदीले जनाएका छन् ।

गछियामा अव्यवस्थित उत्खननले गर्दा खोला एकोहोरिएर तीन करोडको लगानीमा हालसालै लाएको बाँधको तारजाली नै बगाइदिएको छ । सुन्दरहरैचा वाड नं. ७ मा रहेको पुर्वञ्चल विश्व विद्यालयको जमिन र स्थानीयवासीको जमिन कटान गरिरहेको छ ।

अव्यवस्थित उत्खननले गर्दा पुरै बस्ती नै जोखिममा रहेको वेलामा झन् यसरी अवैध उत्खननले पुरै गाउँले त्रसित भएको सुन्दरहरैँचा नगरपालिका वाड नं ६ का वडाध्यक्ष जीवनकुमार राई बताउँछ । खोला सम्झौता आईईमा मेसिन प्रयोग गर्न पाउने प्रावधान रहेकोले गर्दा स्थानीय मजदुर मात्र नभएर पुरै बस्ती नै जोखिममा परेको वडाध्यक्ष राईको ठहर रहेको छ ।

सुन्दरहरैंचा वार्ड नं ६ सुकुना टोलका बासिन्दाहरूलाई भने आफूहरूको बाँस नै उठ्ने होकि , भन्ने चिन्ताले सताउन थालेको छ । अवैध खोला उत्खनन भएको देखेर स्थिानियबासीले, खबर गर्दा समेत सम्बन्धित क्षेत्रका प्रहरी नआउँदा प्रहरी प्रशासनको समेत ठेकेदारसँगको मिलेमतोको आशंका, स्थानीयले गर्न थालेका छन् ।
गछिया खोला अहिले तीसफिटजति गहिरिएको छ ।

यसो हुनुमा बर्सेनि अवैध खोला उत्खनन र त्यसलाई प्रोत्साहन गर्ने क्रसर उद्योगहरू नै मुख्य दोषी रहेको स्थानीय बताउँछ । झन् रातीराती हुने अवैध उत्खननले गर्दा पुरै बस्ती नै खतरामा पुगेको स्थानीय सन्तोष लिङ्देन बताउँछ । खोला उत्खननको विषयलाई लिएर आफूहरू नगरपालिका, जिल्ला समन्वय समिति तथा सिडिओ कार्यालय समेत पुगेका तर कहीबाट पनि सुनुवाइ नभएको लिङ्देनको आरोप रहेको छ ।

सुकुना टोलका तेजबहादुर थापा भने पानी पर्नसात डरले बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । अव्यवस्थित उत्खननले गर्दा पानी एकोहोरिएर खोला घरनजिकै आइ पुगिसकेको देखिन्छ । बर्सेनि हुने कटानको कारण उनको घर खोलाबाट अहिले ६० मिटर मात्र टाढा रहेको छ ।

स्थानीय देवीप्रसाद ढागीको सो खोलाले ३ बिघा जग्गा कटान गरिसकेको छ । २०७४ सालको बाढी कटानबाट सुरु भएर अहिले सम्म हाल बगी रहेको खोला भन्दा १० फिट माथि रहेको जग्गा कटान भएको ढागी बताउँछन् ।

अब ठेक्का लाउँदा मेसिन लाउन नपाउने, खोलाबाट प्राप्त रकमको आधा रकम खोलाकै तटबन्धमा लगाउनु पर्ने स्थानीयको माग रहेको छ । तेजबहादुर थापा, देवीप्रसाद ढागी केही उदाहरण मात्र हो । उनी जस्तै अरू पनि धेरै पीडित छन् । बर्खामा बाढी पस्ला भन्ने डरले दिनरात बिताउनु पर्ने स्थानीयको बाध्यता रहेको छ । तटबन्धभन्दा उत्खनन बढी छ ।

अवैध रूपमा खोला उत्खनन भएर खबर गर्दा पनि सम्बन्धित क्षेत्रका प्रहरीको अनुपस्थित हुनु, उत्खननमा संलग्नलाई समात्न प्रमुख जिल्ला अधिकारीको निर्देशन चाहिने अवस्था आउनु भनेको प्रहरी प्रशासनप्रति स्थानीय जनताको विश्वास घट्नु हो । यसतर्फ जिम्मेवार निकायले सोच्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्