“कोरोना संक्रमणबाट बच्न व्यक्ति आफैँ सतर्क हुन आवश्यक छ” : मन्त्री घिमिरे


विराटनगर, १३ साउन । कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आफैँ सतर्क हुनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कोभिड १९ सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालाहरूले सो कुरा बताएका हुन ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमणको दर वृद्धि भएको बताउनुभयो । केही समयदेखि घटेको संक्रमण पछिल्लो एक सातामा बढेर गएको उहाँले बताउनुभयो । संक्रमण बढेसँगै सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

व्यक्ति आफैँ सतर्क नभए संक्रमण झन् बढेर जाने मन्त्री घिमिरेले बताउनुभयो । कोरोना सम्बन्धी सतर्कता नअपनाउनेलाई कानुनको सहारा लिएर भए पनि सतर्कता अपनाउन लगाउनुपर्नेमा उहाँको जोड छ । लकडाउनले संक्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आफैँ सतर्क हुने समय आएको मन्त्री घिमिरेले बताउनुभयो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरूले सार्वजनिक सेवा बन्द गर्दैमा संक्रमण नियन्त्रणमा नआउने देखिएकाले सेवाग्राहीको रेकर्ड राखेर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले व्यक्ति सचेत हुने बेला आएको बताउनुभयो ।

निजी अस्पताल सञ्चालकहरूको संगठन (अफिन)का प्रदेश १ संयोजक डा. सुनिलचन्द्र अधिकारीले कोरोना संक्रमणबाट जोगिनका लागि अनुशासन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले होम आइसोलेसनमा बस्न सक्नेहरूलाई त्यस्तो सुविधा सरकारले दिनुपर्ने बताउनुभयो ।

मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले अनुशासनमा बस्न नसके संक्रमण नियन्त्रणमा समस्या हुने बताउनुभयो । सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको उहाँले बताउनुभयो । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक डा. डेनप्रसाद आचार्यले संक्रमण बढेसँगै सरकारले संक्रमितको उपचार गर्न नसक्ने भएकाले व्यक्ति आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुनसरीको दुहबी नगरपालिकाका प्रमुख वेद गच्छदार, नेकपा मोरङका नेता रामलाल साह, नेकपा महानगर कमिटी अध्यक्ष सागर थापा, नेपाली काँग्रेस विराटनगर कार्यबहाक सभापति अरुण न्यौपानेले प्रदेश सरकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरको कोरोना संक्रमणको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्