स्थानीय तहले कोरोना संक्रमण रोकथाममा आवश्यक कदम चाल्न सक्ने


विराटनगर, १६ साउन । कोरोना भाइरस संक्रमणको अवस्था विश्लेषण गरी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने भएका छन् ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा आज सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले परिस्थितिको विश्लेषण गरी कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न सम्बन्धित स्थानीय तहहरूले आवश्यक कदम चाल्न सक्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी उनीहरूको पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा बढाउने निर्णय गरिएको छ ।

बैठकले नेपाल सरकारले जारी गरेको कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारण नागरिक, कर्मचारी तथा कामदार कार्यालय, उद्योग धन्दा व्यापार व्यवसायले सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कार्यस्थलमा पालना गर्नुपर्ने स्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्डलाई एकीकृत गरी सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सम्बन्धी मापदण्ड जारी गर्ने निर्णय गरेको छ ।

मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ संस्था, सञ्चारकर्मीलाई आग्रह गर्ने र मापदण्ड पालना नगर्ने व्यक्ति तथा निकायलाई कानुन बमोजिम कारबाही गरिने बैठकको निर्णय छ ।

कोसी कोभिड अस्पतालको हालको शैया विस्तार गरिने र आइसोलेसन केन्द्रहरूको विस्तार गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कोमलबहादुर थापा, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्