उदयपुरबाट मानसिक स्वास्थ्य समस्या भएका १० जनाको उद्धार


विराटनगर १७ साउन । प्रदेश १ सरकारले शनिवार उदयपुरको कटारीबाट १० जनाको उद्धार गरेको छ । कटारी नगरपालिकाका विभिन्न वडाहरूबाट मानसिक स्वास्थ्य समस्या भएपछि सडक आश्रित तथा खोरमा थुनेर राखिएकाहरूको उद्धार गरेको हो ।

उद्धार गरिएकामा सडक आश्रित गर्भवती बालिका सहित ४ महिला र ६ पुरुष छन् । उनीहरूलाई सडक र घर–घरमा गएर सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभा सदस्य कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, सामाजिक अभियन्ता मञ्जिता उपाध्याय, मानव सेवा आश्रमका प्रतिनिधि सहितको टोलीले उद्धार गरेको हो । कटारी १ कालिखोलाका ५७ वर्षीय तर्कबहादुर अधिकारी (खत्री) लाई उद्धार गर्न उनको घर पुग्दा उनलाई घर परिवारले घरदेखि २ सय मिटर पर बाँस घारीमा बनाइएको खोरमा थुनेर राखिएको थियो । उद्धार टोली पुग्दा उनी नग्न अवस्थामा थिए ।

उनी १० वर्षदेखि खोरमा नग्न अवस्थामा बस्दै आएको स्थानीय पवित्रा थापाले बताउनुभयो । कटारीमा करिब ३२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू रहेको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख भीमकुमारी राउतले स्वास्थ्य समस्या भई सडक आश्रित व्यक्तिका परिवारलाई नगरपालिकामा भेला गरी समस्या समाधानको पहल सुरु गरेको बताउनुभयो । प्रदेश सरकारको अभियान अन्तर्गत उद्धार सुरु गरेको उहाँले बताउनुभयो । शनिवार उद्धार गरिएकाहरू ५ सन्तानका आमा, सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका,साङ्लोले बाँधिएका, पढ्दा पढ्दै स्कुल छोडेका युवाहरू रहेका छन् ।

प्रदेश १ सरकारले सडक आश्रित र सहयोगापेक्षीहरु सबैको उद्धार गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कटारीका सडक र घर–घरमा पुगेर उद्धार गर्दै मन्त्री घिमिरेले प्रदेश १ का सबै स्थानीय तहबाट मानसिक स्वास्थ्य समस्या भएका, सडकमा जीवन बिताइरहेकाहरूको उद्धार गरिने उहाँले बताउनुभयो । प्रदेश १ का सडकमा आश्रित र सहयोगापेक्षीको उद्धार गरी सडक मानवमुक्त बनाइने मन्त्री घिमिरेले दोहो¥याउनुभयो ।

उद्धार गरिएका व्यक्तिहरूलाई मानव सेवा आश्रम विराटनगरमा राख्ने गरिएको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरूसँगको सहकार्यमा मानव सेवा आश्रमले सडकआश्रित र सहयोगापेक्षीहरुको उद्धार गर्दै आएको छ । उद्धार गरिएकाहरूलाई पारिवारिक वातावरणमा राख्ने गरिएको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले बताउनुभयो । मानव सेवा आश्रमले अहिले सम्म प्रदेश १ मा १ सय ८ जनाको उद्धार गरिसकेको छ । उद्धार गरिएका मध्ये अहिले ६५ जना आश्रममा छन् । अन्यलाई उपचार पछि परिवारको जिम्मा लगाइएको छ । प्रदेश १ मा सडक आश्रितहरूलाई आगामी एक वर्ष भित्रमा उद्धार गरी सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्