मेलम्चीमा पहिरोमा बेपत्ता ४ जना मजदुरको शव भेटियो : अरु ४ जनाको खोजी कार्य जारी


सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पहिरोमा पुरेर बेपत्ता चार जना मजदुरको शव फेला परेको छ । वाड नं. ११ पहिरोमा पुरिएका ८ जना मध्य ४ जनाको शव भेटिएको हो ।

अझैँ चार जनाको खोजी कार्य भइरहेको खोजी कार्य खटिएका उद्धारले जनाएको छ । बेपत्ता हुनेमा सात जना नेपाली र एक जना भारतीय नागरिक रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।

४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा बेपत्ता भएका हुन ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक छलबहादुर तामाङका अनुसार खोजी कार्य जारी रहेको छ । घटनास्थलबाटै तामाङले भने, ‘चार जनाको शव फेला परे पनि सनाखत हुन बाँकी नै छ । बाँकी चार जनाको खोजी भइरहेको छ । हामी राति ३ बजेदेखि नै उद्धारमा खटिरहेका छौँ ।’

अविरल वर्षासँगै राति २ बजेतिर पहिरो जाँदा मेलम्ची–११ मा कभर्ड हल निर्माणमा खटिएका नौ मजदुर पुरिएका थिए । एक जनाको भने तीन घण्टाको प्रयासपछि उद्धार गरिएको थियो । उनी पनि घाइते छन् । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्