पथरी भेट्रान फाइनल प्रवेश


अनिल बराल, बेलबारी । मोरङको बेलबारी २ मा जारी लालभित्ती ढल्केजोवन खसी कप प्रतियोगिताको शनिवारको खेलमा पथरी भेट्रान क्लबले फाइनलमा स्थान पक्का गरेको छ ।

पहिलो सेमिफाइन खेलमा आयोजक लालभित्ती भेट्रान क्लबलाई ३ का विरुद्ध ५ गोल गर्दै पथरी भेट्रानले फाइनलमा स्थान बनाएको हो । खेलको पहिलो हाफमा आयोजक २–० गोलले अघि भए पनि दोस्रो हाफमा पथरी भेट्रानले ५ गोल गर्न सफल भयो ।

आयोजकका सन्तोष चौधरी ले १७ र २१ औ मिनेटमा २ गोल गरी पहिलो हाफमा आयोजक २–० गोलले अघि भए पनि दोस्रो हाफको ३१, ६० र ६१ औँ मिनेटमा पथरीका संजोग राईले ३ गोल गर्दै ह्यट्रिक पुरा गरे भने ३३ औँ मिनेटमा सुमन राई र ३८ औँ मिनेटमा देवराज गुरुङले गोल गर्दै पथरीलाई फाइनलमा पु¥याए ।

दोस्रो हाफको ३४ औँ मिनेटमा आयोजकका कमल धिमालले १ गोल गरे पनि आयोजकले नतिजा पथरीलाई सुम्पियो । महान् चाड वडादशैको अवसरमा नरेन्द्र स्मृति युवा क्लब बेलबारी २ ले आयोजना गरेको प्रतियोगितामा उत्तरी मोरङका ८ वटा भेट्रान टिमहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ३० केजीको खसी, दोस्रोले १५ केजीको खसी र तेस्रो हुने टिमले १५ केजी कुखुरा पुरस्कार पाउने संयोजक टङ्क लिम्बुले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द म्याचले लोकल भाले पाउनेछ भने प्रत्येक सहभागी टिमहरूलाई प्रमाणपत्र उपलब्ध गराउने पनि संयोजक लिम्बुले बताए ।

असोज १६ गते उद्घाटन भएको प्रतियोगिता २३ गते फाइनल खेलसँगै समाप्त हुनेछ । आइतबारको दोस्रो सेमिफाइनल खेल एभरेष्ट भेट्रान भाउन्ने र बेतना भेट्रान बेलबारी बिच हुने सचिव राजु परियारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्