काठमाडौँमा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं, २० साउन । काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकामा ६२ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ७२७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौँका ४८ जना, ललितपुरका १ जना र भक्तपुरका १३ जनामा संक्रमण देखिएको हो ।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, स्टार अस्पताल ललितपुर, टिचिङ हस्पिटल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन् । योसँगै उपत्यकाका जिल्लाहरू काठमाडौँमा ५४१ जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ७७ जना कोरोना संक्रमित पुगेका छन् ।

आज (मंगलबार) संक्रमण पुष्टि भएका २५९ जनामध्ये काठमाडौं उपत्यकाका ६२ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएका २५९ सहित नेपालमा कूल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा ७ हजार ६८७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा २५९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मंगलबार ६५ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्