हिमालय बचत तथा ऋण सहकारीको २३ औ साधारणसभा सम्पन्न


बेलबारी । मोरङको केराबारी–९ स्थित देबीझोडामा रहेको हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ ।

संस्थाले २३ औँ वार्षिक साधारणसभाको अवसरमा बुद्ध मा.बि देबीझोडामा नेपाल रेडक्रस सोसाइटी धरान शाखाको सहयोगमा बिहान रक्तदान कार्यक्रम पनि गरेको थियो । सोही विद्यालयमा दिउसो साधारण सभा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा १६ महिला र ४२ पुरुष रक्तदाताहरुबाट ५८ प्रिन्ट ब्लड सङ्कलन भएको लेखा संयोजक तीर्थ प्रसाद बराले जनाएका छन् ।

२३ औँ वार्षिक साधारणसभाका प्रमुख अतिथि तथा केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दौ केराबारी गाउँपालिकामा “गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी” बनाउन के गर्न सकिन्छ भनेर ऐनहरू निर्माण गरिसकेको र कानुनी ऐन बनाएर लागु गर्नको लागि ऐन प्रकाशन र राजपत्रमा निकाल्नको लागि तयारीमा रहेको जनाएका छन् । गाउँपालिकाले उत्कृष्ट सहकारीहरूलाई अनुदानको पनि व्यवस्था गर्ने अध्यक्ष कार्कीले बताएका छन् । राम्रो काम गर्ने सहकारीहरूलाई मर्च गर्न वा बैङ्क खोल्न लाग्ने पूर्वधारको सहयोग पनि गाउँपालिकाले गर्ने उनले बताएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला बचत तथा सहकारी सङ्घ मोरङका सदस्य टिका भट्टराई साथै उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारी संस्थाका अध्यक्ष खगेन्द्र सुवेदीले आगामी आ.व.२०७५/०७६ को प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए भने आ.व.२०७४/०७५ को कार्य प्रगति प्रतिवेदन सञ्चालक समिति सचिव शिवप्रसाद लामिछानेले प्रस्तुत गरेका थिए । आ.व.२०७४/०७५ को आर्थिक प्रतिवेदन सञ्चालक समितिको तर्फबाट कोषाध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले प्रस्तुत गरेका थिए । आ.व.२०७४/०७५ को वार्षिक लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयोजक तीर्थ प्रसाद बरालले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारीका ७० वर्षभन्दा माथिका जेष्ठ शेयर सदस्य, १३ जनालाई कदरपत्रले सम्मान गरिएको थियो । २०५३ सालमा स्थापना भएको हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले १००४ जना शेयर सदस्य सङ्ख्या रहेको छ । कार्यक्रम सहकारीका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीको सभापतित्व सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्