उपप्रमुखले भनिन,“भ्रष्टाचार प्रमाणित भए हदैसम्मको कारबाही हुनु पर्छ”: सुन्दरहरैचा विकास निर्माण प्रकरण


सुन्दरहरैचा, २४ साउन । भ्रष्टाचारमुक्त नगर बनाउने हाम्रो लक्ष्यमा जनताले तिरेको करबाट हुने कुनै पनि विकास निर्माण कार्यमा अनियमितता हुन्छ भने संलग्न जो कोहीलाई कडा भन्दा कडा हदै सम्मको कारबाही गर्नु पर्छ, सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले भनिन ।

सुन्दरहरैंचा नगरको विकास निर्माणका कार्यमा विवाद सृजना उत्पन्नसँगै कर्मचारीसहित जनप्रतिनिधिलाई पनि अनियमितताको आरोप आएपछि उपप्रमुख तामाङले कुनै पनि अनियमिततामा संलग्न जो कोहीलाई हदै सम्मको कारबाही गर्नु पर्ने बताएकी हुन ।

उनले भनिन, “हल्लाको पछि लागेर प्रमाण विना कसैलाई अनियमितताको आरोप लगाउन मिल्दैन, मलाई पनि आरोप आएको छ, भ्रष्टाचारमुक्त नगर बनाउने अभियानमा छु, भ्रष्टाचार गर्नेमा हैन ।”

सुन्दरहरैंचाको वडा नम्बर ३ मा निर्माणाधीन ज्येष्ठ नागरिकको वृद्ध सामुदायिक भवन तथा श्री जनता मा.विको दुई कोठे भवनबाट उत्पन्न विवाद अहिले स्थानीयहरूले अन्य वडाका विभिन्न ठाउँमा निर्माणाधीन संरचनामा पनि नीतिगत अनियमितता भएको भन्दै छानबिनको माग गरिरहेका छन् ।

सम्झौता अनुसार काम नभएको वडा अध्यक्ष जीवनप्रसाद ढुंगेलले स्वकारेतापनि सम्झौता अनुसार काम सम्पन्न भएको भनी प्राविधिक कर्मचारीका अनुसार रकम भुक्तानीको सिफारिस गरी भुक्तानी लिए पछि विवाद अझ चर्किएर गएको थियो ।

मिति २०७७ असार २४ को भुक्तानी सिफारिस सम्बन्धमा एक पत्रमा भने सुन्दरहैचा वडा नं. ३ स्थित वृद्ध सामुदायिक भवन सावाना निर्माण सेवा दुहबी ५ का ठेकेदार श्री अबदुल मियाले कार्यालयमा निवेदन पेस गरी नगर कार्यपालिकाको कार्यालयसँग मिति २०७६ चैत २० गते भएको सम्झौता बमोजिमको काम सम्पन्न भएको भनी भुक्तानीको लागि सिफारिस माग गरेकोले प्राविधिक मुल्यांकन, परीक्षण, रकम यकिन तथा भुक्तानी सम्बन्धी कार्य व्यवस्थाका लागि सिफारिस गरिएको उल्लेख गरिएको छ ।

सो पत्रको आधारमा र प्राविधिक कर्मचारीका अनुसार उपप्रमुख तामाङले पनि भुक्तानी सिफारिस गरे पछि उनी विवादमा तानिएकी हुन । तर सम्बन्धी वडा र प्रविधिकलेनै काम सम्पन्न भनेर सिफारिस गरे पछि आफूले पनि सोही अनुसार सिफारिस गर्नु पर्ने परिस्थिति रहेको उनले बताइन । २४ लाख भुक्तानीको सिफारिस भएको समेत उनले जनाएकी छिन ।

अनुगमन गर्दा नगरपालिकाले व्यवस्थापन गरेको अनुगमनको भत्तामा भन्दा निष्पक्ष काम गरिरहेको तामाङ बताउँछिन् । नगरपालिकाबाट प्राप्त हुने अनुगमन भत्ता अहिलेसम्म कहिले नलिएको र आफ्नो कार्यकाल भरी नलिने समेत बताएकी छिन ।

सुन्दरहरैचा नगरपालिकाले प्राविधिक टोलीको छानबिन समिति निर्माण गरेको तामाङले जानकारी दिएकी छिन । छानबिनमा आफू दोषी भेटिए कानुन कारबाही भोग्न तयार रहेको उनीले बताइन । नगरपालिकाको कुनै पनि योजनामा स्थानीय तथा उपभोक्तालाई प्राथमिकता दिनु पर्ने उनको मत रहेको छ । तर केही कामहरू कानुनी ऐन अन्तरगत सञ्चालनमा रहेको उनीले बताइन । जनताले गर्ने खबरदारी र स्थानीयको भावनाको नगरपालिकाले सधैँ सम्मान गर्ने उनले बताएकी छिन ।

सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव ढकालको पनि मत उस्तै रहेको छ । प्रमुख र उपप्रमुखलाई अनियमितताको आरोप बदनाम गर्न गरिएको भ्रम प्रचार रहेको ढकाल बताउँछन् । ढकाल भन्छन्, “यो नियोजित बदनाम गर्न प्रचार गरिएको हो । राजनीतिज्ञ उद्देश्यका साथ गरिएको प्रचारबाजी हो ।”

कसैले एउटा विषय उठायो भन्दैमा काम गर्न छाडेर लालाकलुलुक हुनु भन्दा भ्रष्टाचार रोक्न हो, ढकालले भने । छानबिन समितिलाई १५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको ढकालले बताएका छन् । छानबिनबाट रिर्पोट आए पछि स्टमेट गलत भए, काममा लापरबाही भए, भ्रष्ट्राचार भएको प्रमाणित भए संलग्न जोसुकै भए पनि उन्मुक्ति नपाउने र नगरपालिकाले अन्तिम हदसम्मको कारबाही गर्ने ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्