आज एकै दिनमा कोरोनाबाट तीन जनाको मृत्यु : नेपालमा मृतकको संख्या ७३ पुग्यो


काठमाडौं, २४ साउन । नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा एक, वीरगञ्जमा एक र विराटनगरमा एक जनाको कोरोनाका कारण ज्यान गएको छ । काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रवार पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगञ्ज र मोरङका दुई व्यक्तिको पनि मृत्यु भएको छ । वीरगञ्जका ७४ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोरङका एक पुरुषको पनि कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा ६२ सहित शनिवार नेपालमा थप ३७८ जनामा कोरोना

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँका ५६, ललितपुर र भक्तपुरका ३–३ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा काठमाडौँका ५ र ललितपुरका ३, वीर अस्पतालमा काठमाडौँका एक, त्रिवि शिक्षण अस्पतालमा एक जनामा कोरोना पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २९, स्टार अस्पताल सानेपामा काठमाडौँका १२, विद ल्याबमा काठमाडौँका २, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३ र काठमाडौँका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

आज ९शनिवार० नेपालमा कोरोना पुष्टि भएका ३७८ जनामध्ये काठमाडौं उपत्यकाका ६२ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको जानकारी दिए ।
आज ७ हजार ७८८ पीसएआर परीक्षण गरिएको थियो । यस्तै आज ४९९ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्