जनताको ज्यान बचाउने कार्य गर्न प्रदेश सरकारलाई काँग्रेसको आग्रह


विराटनगर, २५ साउन । नेपाली काँग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रदेश सरकार जिम्मेवार नदेखिएको भन्दै जनताको ज्यान बचाउने कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।

काँग्रेस प्रमुख सचेतक केदार कार्कीले आज विज्ञप्ति प्रकाशित लकडाउन अगाडि नै आफ्नो दलले कोभिड १९ को संक्रमण बढ्ने खतरा औलाउँधै सम्पूर्ण तयारी गर्न सरकारलाई झकझकाए पनि सो अनुरूप सरकारले नगरेको उल्लेख गरेका छन् ।

“मुख्यमन्त्री दैनिक सामाजिक सञ्जालको भिडियोमा आएर कोरोनासँग लडिरहेको,पराष्त गर्न लागेको,घेराबन्दी भैसकेको जस्ता हल्का कुरा गरी जनमानसमा भ्रम छर्ने काम भयो,” विज्ञप्तिमा भनिएको छ,“सरकारका कमी कमजोरी र भ्रष्टाचारबाट जोगिन कोभिड १९ लाई राम्रोसँग ढालको रूपमा प्रयोग गर्न सफल रह्यो । सरकारले मिडियामा र संसद्मा पटक पटक पर्याप्त मात्रामा आइसोलेसन बेड तयारी रहेको भनी दिएको अभिव्यक्ति अहिले आएर झुटो साबित भएको छ ।”

मोरङको गोठगाँउको पूर्वाञ्चल विश्व विद्यालयको अस्पताल लेभल १, विराटनगरको कोशी कोभिड अस्पताल लेवल २ र धरानको वीपी प्रतिष्ठान लेभल ३ भने पनि समुदायमा संक्रमण फैलिएर संक्रमित बढेपछि संक्रमितलाई समेत व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकारको काम उदांगो भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जनताको अगाडि मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समयसम्म काठमाडौँ बस्नुले जनता प्रति सरकार कति जिम्मेवार छन् भन्ने छर्लङ्ग भएको छ । कोशी अस्पतालमा अक्सिजनसम्म नहुनु कति लाजमर्दो कुरा हो । लेभल ३ भनेको अस्पताल अझै पूर्ण निर्माण भई नसकेको र बिरामी सिकिस्त हुँदा उपचार गर्न नसक्ने र अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद कुरा हो ।”

संक्रमित त परै जाओस् लक्षणसहित सास फेर्न गारो परेको बिरामीलाई समेत भर्ना लिने अस्पताल नभएको र पिसिआर टेस्टको दायरा बढाउन दिएको दबाब र सरकारको लाचारीपन उदेक लाग्ने खालको भएको काँग्रेसको ठहर रहेको जनाइएको छ ।

दैनिक हजार क्षमताको परीक्षण गर्न ल्याबको कुरा गरे पनि यसको दर बढाउन नसेको र आर्थिक प्रभाव परेकाहरूको विषयमा त परै जाओस् संक्रमितहरुको समेत व्यवस्थापन गर्न सरकार सक्षम नदेखिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश सरकार केवल “केन्द्रको मुख ताक्ने र संघीय सरकार जस्तै गैरजिम्मेवार र निकम्मा भएको जनताले महसुस गरेको सजिलै अनुमान गर्न सकिन्छ । फेरि पनि सरकारलाई पिसिआरको दायरा बढाउन आइसोलेसन र भेन्टिलेटर सहितको अस्पताल तु व्यवस्था गर्न जोडदार माग गर्दछौ,” विज्ञप्तिमा उल्लेख छ । काँग्रेसले जनता प्रति पारदर्शी भएर जनधनको सुरक्षा तथा शान्ति सुरक्षा कायम गर्न सरकार समक्ष माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्